काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण शोकमा रहेका अध्यक्ष ओली शनिवार बालबालिकासँग छलफलका लागि सार्वजनिक कार्यक्रममा निस्कदैँछन् ।
उनले विद्यार्थीहरुको समूह एड टक्सले गर्न लागेको ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् ।
‘आज म ‘बासँग विद्यार्थी’ भन्ने कार्यक्रममा हुनेछु । कार्यक्रम इम्पेरियल बेङ्क्वेट सल्लाघारी भक्तपुरमा बिहान ११:४५ मा हुने रहेछ । कार्यक्रमको मोडरेटर चाहिँ भिडियोमा देखिएकी यी नातिनीले गर्नेछिन् ।’ सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरीसँगको टिकटिक भिडियो सेयर गर्दै अध्यक्ष ओलीले लेखेका छन् ।
नेम्वाङको निधनका कारण बाको मुख हेर्ने दिन ओलीसँग भेट गर्न नपाएकी आयोजकमध्येकी स्वीकृति शर्मा शुक्रबार बालकोट पुगेर ‘केपी बा’को मुख हेरेकी छन् । उनले एमाले अध्यक्ष ओलीसँग टिकटिक पनि बनाएकी छन् । उनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी हुन् ।