काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि पार्टी कार्यालयमा राखिने भएको छ ।
हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको हो ।
पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार विदेश बस्दै आएका दुई छोरा आएपछि मात्रै हुनेछ । नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्। १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने बताइएकाे छ । नेम्वाङका दुई छोरी भने काठमाडौंमै छन् ।
एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर उनकाे अन्तिम संस्कार गरिनेछ ।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए ।
विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे। विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।
विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए ।
विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भए। संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बनेका थिए।