शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रिजालको पार्थिव शरीर बिहान ११ बजेदेखि श्रद्धाञ्जलिका लागि राष्ट्रिय सभागृहमा राखिने

बिहिबार, भाद्र २१ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो ।

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

उनको निधन पश्चात यतिबेला काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अस्पताल पुगेका छन् ।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए।