शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

आइतबार, भाद्र १७ २०८०

काठमाडौं- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँच किलोस्थित सडकमा बा.१५ च ९३७० नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक काठमाडौं नागार्जुन नगरपालिका–४ घर भएका ३६ वर्षीय उत्तम महर्जन र स्कार्पियोमा सवार बाह्रविसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बल बहादुर खत्री रहेका छन् । गम्भीर घाइते भएका उनीहरूको सिन्धु सदाबाहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका स्कार्पियोमा सवार ४ जनालाई उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित सडकमा भे.१ ज १०९९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरूको हाल सनाखत हुन सकेको छैन् ।

नुवाकोटको बिदुर नगरपालिका–१० बेत्रावतीस्थित उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा.४ ख ४३४२ नम्बरको टिपर बालुवा लोड गर्दा ब्याक गर्ने क्रममा टिपरको टायरले किच्चिएर रसुवा उत्तरगया गाउँपालिका–१ गोगनी घर भएका ३७ वर्षीय कामी तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । टिपरको टायरले किँचिदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ नारायणी पुलस्थित सडकमा बाग्मती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा चालक चितवन भरतपुर महानगरपालिका–२८ बस्ने २८ वर्षीय नारायण ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।