काठमाडौं – झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले शनिबारदेखि जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको छ । सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरेका थिए ।
यस्तै औपचारिक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड आजै चन्द्रागिरिस्थित वडा नं २ मा रहेको घट्टेडाँडा पार्कमा पुगे । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा प्यानलसहितै विजयी भएको थियो । माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै आज अभियानको उद्घाटन भएको जनाएको छ ।
जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन् । अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन् । कतै सफाइ अभियान चलेको छ । कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ ।
सडक मर्मत गर्ने, स्थानीयसँग अन्तक्र्रिया एवं पार्क सफाइ गर्ने कामसमेत अभियानको क्रममा सुरु भएको छ । यस्तै सरकारले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा गरेको काम कारबाहीलाई जनताको बीचमा लैजाने माओवादीको ध्येय छ ।
माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ । त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने केन्द्रको विश्वास छ । माओवादीका हरेकजसो नेता अभियानमा खटिएका छन् । यसबाट जनतामा नयाँ खालको सम्बन्ध विकास हुने र त्यसले आगामी दिनमा पार्टी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनतामा भरोसा जगाउन र सिङ्गो पार्टीपङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चलाउनुपरेको बताए ।
घट्टेडाँडा पार्कमा अध्यक्ष प्रचण्डलगायतका शीर्षनेतालाई स्थानीयवासीले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । पार्कमा उनले बिरुवासमेत रोप्नुभएको थियो । गत केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार नै सात प्रदेशका सातवटा वडामा अध्यक्ष प्रचण्ड आफैँ अभियानमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीसमेत रहृका अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरूले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचारविरोधी अभियानबारे भ्रम फैलाउने प्रयास गरिरहेको उल्लेख गरे । आफूले यसपटक देश र जनताको पक्षमा केही न केही गर्ने लक्ष्यका साथ काम सुरु गरेको जानकारी दिँदै उनले भने, ‘यो पटक नयाँ सङ्कल्पका साथ प्रधानमन्त्री शपथग्रहणपछि नयाँ अभियानको थालनी आफँैले गरेँ, भ्रष्टाचारविरुद्ध सुशासनको अभियान । यो एउटा महाअभियान हो । यो एउटा ठूलो अभियान हो । यो एउटा नयाँ क्रान्ति हो । यो नयाँ प्रकारको जनयुद्ध नै हो ।’
उनले भने, ‘विगतमा जनयुद्धमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने हिजोको सामन्ती राजा–महाराजाका सपना थिए । अहिले अनेक किसिमले हाम्रो गठबन्धन फुटाउन सरकारले सुरुआत गरेको सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई भ्रमित पार्न अनेक कुचेष्टा भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले आफूले सुरुआत गरेको भ्रष्टाचारविरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने दाबी गरे । अभियानकै क्रममा प्रधानमन्त्री प्रचण्डले नागढुङ्गा–सिस्नेरी सुरुङमार्गका आयोजना प्रमुखलाई फोन गरी तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न निर्देशन दिए ।
स्थानीयले सुरुङ निर्माणको क्रममा घर तथा आवास चर्केको, पानीको मुहान सुकेको भन्दै समस्या समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए । स्थानीयको माग सम्बोधन गर्दै प्रधानमन्त्रीले सात दिनभित्र आवश्यक विवरण तयार पारेर आफूलाई भेट्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।