शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राजनीति

प्रचण्डलाई विष्णु पौडेलको चेतावनी

शनिबार, भाद्र १६ २०८०

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको भविष्यवाणी नगर्न प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।

शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा उनले प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन्। उनले एमालेको विषयमा भ्रम फैलाएर आफू बलियो बन्ने सपना नदेख्न पनि भनेका छन्।

प्रचण्डले गत बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा एमालेभित्र धाँजा फाटेको, नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएको र कुनै पनि बेला विस्फोट हुन सक्ने टिप्पणी गरेका थिए।

प्रचण्डको सोहि टिप्पणीको सम्बोधन गर्दै आज एमाले उपाध्यक्ष पौडेलले यस्तो कटाक्ष गरेका हुन्। ‘अवसरवादीहरु एमालेलाई कमजोर बनाउन सके आफू बलियो भइएला भन्ने सोचेर भविष्यवाणी गर्दै हिंडेका छन् तर एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन।’

प्रचण्डको भनाईप्रति लक्षित गर्दै पौडेलले भने ‘विगतमा पनि एमालेललाई कमजोर मात्र हैन समाप्त पार्न प्रयास गरिएको थियो तर एमालेले ती सबै प्रयासलाई परास्त गरेको हो।’

उपाध्यक्ष पौडेलले प्रदेश अधिवेशनलाई लिएर महासचिव पोखरेल र आफ्नो नाम जोडेर गुटको लडाई भनेर प्रचार गरिएको तर कुनै गुट नरहेको बताए।

उनले नीति र विचारमा एमालेभित्र कुनै विमति नरहेको दावी गर्दै विवाद छ भन्ने कुरा पानीको फोका मात्रै भएको बताए।

उनले १० औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध रहेको बताए।