शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पुष्पकमल दाहाल प्रचण्ड

ललिता निवास प्रकरण: माधव नेपाल निर्दोष सावित, अब प्रश्न उठाउने ठाउँ छैन

शुक्रबार, भाद्र १५ २०८०

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि पनि बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठेको उल्लेख गर्दै उनी निर्दोष सावित भएको तर्क गरेका छन् ।

आज (शुक्रबार) पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्वोधन गर्नै उनले भने, ’माधवजीबारे पनि विभिन्न प्रश्न उठेको थियो । निर्दोष हो भन्ने सावित भयो ।’ उनले भने, ‘अब प्रश्न उठाउने ठाउँ रहेन । सीआईबीले बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन पर्दैन भनेको छ । दोषी गइराखेका छन्, अब कसैले तर्साउन सक्दैन ।’

सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको अभियान सुरुमा आफूलाई छिटै सकिन्छ भन्ने लागेको पनि उनले बताएका छन् । तर, यो गर्दै जाँदा महाभियान बन्ने देखिएको उनले सुनाए । ‘यो अभियान रोकिँदैन । सुरुमा अभियान १५ दिने, एक महिने बन्छ कि भन्ने लागेको थियो । गर्दै जाँदा महाअभियान बन्ने देखेको छु,’ प्रचण्डले भने, ‘एकपछि अर्को गर्दै भ्रष्टाचारमाथि हमला बोल्नु पर्छ भनेर बोलियो । माफियागिरीको कुरुप उदाहरण ललिता निवासको फाइल खोल्यौँ ।’

उनले सत्ता गठबन्धनमा राम्रो एकता कायम रहेको पनि दाबी गरेका छन् । ‘अहिले जो प्रतिपक्षमा छन् उनीहरूसँग मिलेर म प्रधानमन्त्री भएँ । पछि चुनावकै गठबन्धनमा पुग्दा कसरी पुगियो भन्ने पनि लाग्छ,’ प्रचण्डले भने, ‘गठबन्धनभित्र राम्रो एकता कायम भएको छ । बेथितिविरुद्ध लडाइँ छेडेका छौँ ।’

प्रचण्डले अहिले अर्थतन्त्रमाथि दबाब रहेको पनि बताए । तर, उक्त समस्यालाई पनि सरकारले समाधान गर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमाथि दबाब कायम छ । जति आर्थिक चलायमान हुनुपर्ने हो त्यो भएको छैन । केही समस्या समाधान गर्नुपर्ने छ, त्यो हुन्छ,’ उनले भने ।

उनले सुन तस्करीको विषय सामान्य नरहेको बताए । ‘सुन तस्करी सामान्य छैन । क्विन्टलका क्विन्टल सुन तस्करी हुने थाहा पाएपछि, हाम्रो एअर रुट प्रयोग भएको थाहा पाएपछि त्यसमाथि अंकुश लगाउनु पर्छ भनेर प्रहार गर्‍यौं,’ प्रचण्डले भने, ‘मिटरब्याजीविरुद्ध पनि प्रहार गर्‍यौँ ।’ उनले सरकारले भ्रष्टाचारविरोधी अभियान मात्र नचलाएको बताए । ठूला आयोजनाहरूको आफैले निरीक्षण गरेर विकासको वातावरण पनि सिर्जना गरेको प्रचण्डले बताए ।