शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशी सरकारविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय खतिवडा र माथेमाको संयुक्त इजलासमा

शुक्रबार, भाद्र १५ २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्दै छ।

मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएकोविरुद्ध परेको रिटको सुनुवाइका लागि इजलास तय भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । उक्त मुद्दाउपर आज पूर्ण सुनुवाइ हुँदैछ ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्नेगरी यसअघि नै पेसी तोकिएको थियो।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।

जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।