शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राजनीति

गगन आशंका: ठूला भ्रष्टाचारका काण्ड सामुसाम पार्ने देखियो

सोमबार, भाद्र ११ २०८०

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार सबै काण्डहरूको छानविन गर्नका लागि छानविन पक्षधरहरु एकजुट हुनुपर्नेबताएका छन् । सामाजिक सञ्जालमा यसबारे धारणा सार्वजनिक गर्दै उनले ठूला भ्रष्टाचारका काण्डहरु सामसुम पार्ने संकेत देखिएको बताउँदै यस्ता घटनामा नेताहरू मिल्छन् भने छानविन पक्षधरहरु किन नमिल्ने भन्दै प्रश्न गरेका छन् ।

‘विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउँ । यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ,’ उनले भनेका छन् । उनले सबै जना मिलेर प्रयास गरे भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्ने बताएका छन् ।

‘यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामीले छुट्टाछुट्टै दर्जनौँ संशोधन हालेका छौं । यसमा राम्रोसँग काम गरौं,’ उनले भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔं । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔं। के नीतिगत हो, के होइन प्रस्ट गरौं ।’

उनले संसदबाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्षरूपमा काम गर्नका लागि के–के कानुनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गर्न उनको आग्रह छ । ‘योसँगै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष र क्षमतावान बनाउन अहिले भएको व्यवस्थामा के–के बदल्नै पर्छ यसमा पनि काम थालौं । यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, ‘निर्दोष कोही नपरुन, दोषी कोही नछुटुन् ।’ भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस्,’ उनले भनेका छन् ।

ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठूला भ्रष्ट्राचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लङ्ग भएको उनको भनाइ छ । अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ,’ उनले भनेका छन् ।