बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भैँसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई सुविधा सम्पन्न भवन, सम्पर्क कार्यालय र निवास

सोमबार, भाद्र ११ २०८०

काठमाडौं । सातै प्रदेशका सम्पर्क कार्यालय एकै ठाउँमा हुँदा अन्तरप्रदेश समन्वयन र संघीय सरकारसँग समन्वयन गर्न पनि सजिलो हुने बताइँदै ललितपुरको भैँसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालय र निवास भवन तयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार उक्त भवनहरूको उद्घाटन गरे  । साथै, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भवनको साँचो पनि हस्तान्तरण गरे  ।

प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा सम्पर्क कार्यालय र निवास बनाउने गरी असोज ०७६ मा भवन निर्माण सुरु गरिएको थियो । करिब चार वर्षमा उक्त संरचना निर्माण पूरा भएको हो । २७ रोपनी १२ आनामा क्रमशः एउटै डिजाइनका सातवटा (१४ ब्लक) ठूला भवनहरू निर्माण गरिएका छन् । भवनहरूले मात्रै १७ रोपनी सात आना जग्गा ओगटेको छ ।

पाँच रोपनीमा आन्तरिक सडक, आठ आनामा बगैँचा, पोखरी र चार रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहेको छ ।

कुल लागत ८५ करोड रुपैयाँको आयोजनाको एउटा भवनको खर्च साढे १२ करोड रहेको छ । प्रत्येक भवनको एउटा ब्लकमा प्रदेश प्रमुख र अर्को ब्लकमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास रहेको छ ।