शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशीमा सरकार टिकाउन केन्द्रमा सत्ता गठबन्धनको ‘ढोक्सा’

सोमबार, भाद्र ११ २०८०

काठमाडौं । कोशी प्रदेश सरकार जोगाउन सत्ता गठबन्धनले प्रतिपक्षीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संसदीय समितिको सभापति दिएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व गठबन्धनले राप्रपालाई दिएको हो । कतिसम्म भने समिति सभापतिको उम्मेदवार दीपकबहादुर सिंहको प्रस्तावक नै माओवादी सांसद बसेका छन् । सांसद सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा बसको छन् ।

सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताए । उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताए ।

उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबैकुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ । उहाँहरुले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ ।’

यसअघि संसदीय समितिको भागबण्डा हुँदा विकास समितिको सभापति माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रले उक्त समितिको सभापतिमा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो । तर, आइतबार बिहान बसेको गठबन्धनको बैठकले समिति सभापति राप्रपालाई दिने निर्णय गरेको हो ।

संसदीय समिति सभापति दिएर राप्रपालाई कोशीमा सघाउन लगाउने गठबन्धनको तयारी छ । राप्रपाले ‘ग्रिन सिग्नल’ दिएपछि गठबन्धन समिति सभापति दिन तयार भएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा पनि सहभागी थियो । सिंह त्यतिबेला ऊर्जा राज्यमन्त्री थिए । अहिले भएको सहमतिमा कुनै गम्भीर मोड नआए राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने देखिएको छ ।

मुख्यमन्त्री थापालाई पुनः प्रदेशसभामा विश्वासको मत लिन अदालतले आदेश दिए राप्रपाका सांसदहरूले सहयोग गर्ने समझदारी भएको नेताहरूको भनाइ छ । भदौ ४ गते थापाले लिएको विश्वासको मत संविधानअनुकूल नभएको ठहर सर्वोच्च अदालतले गरिसकेको छ । यसबारे अदालतले भदौ १५ गते पूर्ण सुनुवाइका लागि मिति तय गरेको छ । राप्रपाले विश्वासको मत दिए वा संसद् चलाए पनि थापाको पक्षमा बहुमत पुग्नेछ ।

कोशी प्रदेशसभामा राप्रपा प्रतिपक्षी दलका रूपमा रहेको छ । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । संसद् सञ्चालनका लागि बनाइएको अध्यक्ष मण्डलमा पनि राप्रपाका एक सांसद छन् । उनले सभा सञ्चालन गरिदिए मात्रै पनि मुख्यमन्त्री थापालाई विश्वासको मत लिन सहज हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा कोशीमा गठबन्धनका ४७ सांसद छन् । यसअघि एमालेले उपसभामुखलाई बिदामा राखेपछि गठबन्धनकै ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपरेको थियो ।

कोशीको सरकार टिकाउन बालुवाटारमा ढोक्सा थापेको सत्ता गठबन्धनलाई सर्वोच्चले यहि १५ गते दिने आदेश भने भारी पर्नसक्ने अनुमान गरिएको छ । मुख्यमन्त्री थापालाई पुनः प्रदेशसभामा विश्वासको मत लिन अदालतले आदेश दिए मात्र उसको ढोक्सामा माछा पर्न सक्छ । अन्यथा ठूलो दलको हैसियमत सरकार बनाउनु पर्ने तिर आदेश आए ठूलो दलको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री हुने छन् ।

एमाले अध्यक्ष केपी शर्माले ओलीले केही दिन अघि मात्र विराटनगर पुगेर ४७ मात्र सांसदको बहुमतले होइन ५० सांसदसहित एमालेले कोशीको नेतृत्व गर्ने बताइसकेका छन् । उनको अभिव्यक्तिलाई हेर्ने हो भने कोशीमा एमाले, राप्रपासहित कुनै दलका तीन जना सांसदले एमालेलाई साथ दिनुपर्ने हुन्छ । एमाले राप्रपा बाहेक अहिले कुनै दल एमालेको पक्षमा खुलिसकेको भने छैनन् ।