काठमाडौं । सर्वोच्च अदालतले आजदेखि ‘पेसी तारेख अटोमेसन सिष्टम’ सुरु गर्ने भएको छ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले सो सिष्टम सुरु गर्न लागेको जानकारी दिएका हुन् ।
आइतबार बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा उनले अदालतभित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे ।
प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेसन सिष्टमको सुरुवात गर्नुपरेको बताए। उनले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए ।
सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिष्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानविन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने समेत बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गरे । उनले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागिपरेको बताए । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरू समेत नहुँदा अफ्ठयारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ थियो ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।