काठमाडौं – रूपन्देहीको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौली बस्ने १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । मिक्चर मेसिनमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका–५ पल्लाचौडी बस्ने ४४ वर्षीय नवराज लेखकको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै कोठाभित्र विद्युतको लाईन जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिका–२४ वडारेस्थित कुखुरा फर्ममा काम गरी बस्ने रुकुम सिस्ने गाउँपालिका–२ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर घर्तीको छोरा १० वर्षीय सुप्रिम घर्तीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । भर्या ङ चढि कोठामा जाने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका ती बालकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । छोरोलाई बचाउन खोज्दा घाइते भएका पृथ्वी बहादुर पश्चिम क्षेत्रीय अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।