काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।
सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिए पछि एमाले फेरी पनि सर्वोच्च पुगेको हो ।