बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १० देखि १५ मिटर दक्षिण तर्फको खोलामा खसेको छ । सो दुर्घटनामा १७ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने जानकारी दिए । उनका अनुसार सो बसका घाइतेलाइ हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना पछि बसका चालक र सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई रहेको छ ।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।