काठमाडौं । साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ।
सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ। यो महिना साउन २ गते र बुधबार औँसी परेको हो। बुधबार दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ।
भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ।
प्रत्येक तीन वर्षमा एकपटक आउने मलमास अवधिमा कुनै शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्परा छ।
निर्णयसिन्धुअनुसार संक्रान्ति रहित शुक्लादि चान्द्रमासलाई मलमास भनिन्छ। क्षयमास र अधिकमास दुई प्रकारको हुन्छ।
काठकगृह्यसूत्र अनुसार जुन मासमा संक्रान्ति पर्दैन वा दुई संक्रान्ति पर्दछन त्यसलाई मलमास भनिन्छ। संक्रान्ति नपर्ने मासलाई अधिकमास र दुई संक्रान्ति पर्ने महिनालाई क्षयमास भनिन्छ।
मलमासको अन्तिम दिन श्रद्धालुले व्रत, उपवास लिन्छन्। यो दिन भगवान् विष्णु को जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ। काँसको थालमा भगवान् विष्णुका नामले ३३ वटा मालपुवा राखेर घिउ, तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ।