काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति सुरु गरेको बताएका छन् । आज (शनिबार) गुरु लुँइटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले तर्साउन खोजेको बताए ।
‘यो सामान्य कुरा देखिन्छ तर सामान्य होइन । यो अलि पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति उहाँले सुुरु गर्नु भएको छ । यो राजनीति यहीँ अन्त्य हुँदैन ।’ अध्यक्ष ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु ।’
उनले लोकतन्त्र विरोधी र आन्दोलनमा कहीँकतै देखा नपरेका तत्वहरूले अहिलेको सरकार चलाइरहेको आरोप समेत लगाए । ‘खासगरी सत्तामा लोकतन्त्रविरोधी तत्वहरूको बोलवाला छ, आन्दोलनमा कतै देखा नपरेका तत्वहरूले शासन चलाइरहेका छन्,’ ओलीले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारले केही बोलेकै भरमा युवा हुने बेलाको मुद्दा बूढेसकाल हुँदा झिकेको जिकिर गरे । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा युवा हुँदा परेको मुद्दा बूढो हुँदा निकालेको छ । मान्छे बूढो हुन थालिसक्यो युवा हुँदा पढेको आइएस्सीको सर्टिफिकेटको मामला निकालेर, त्यो छानबिन गरे हुन्थ्यो हतकडी लगाएर,’ ओलीले थपे, ‘एउटा सांसद भागेर जान्छ कि, सुनिल शर्मा भनेको मेडिकल कलेज चलाएर बसेको मान्छे, भागिहाल्दैन होला । कुनै गृहमन्त्रीको नाम सुन्दा भागिहाल्दैन होला । पहिला हतकडी लगाएर खोरमा थुनेर अनि छानबिन गर्ने ?’
‘दोषी छ भने थुन्ने कि दोषी नभए पनि थुन्ने । यो देशको शासनमा बस्ने केही मान्छेहरुको कुनै योगदान छैन,’ ओलीले भने, ‘अनि अहिले आएर लोकतन्त्रको पक्षमा बोल्न खोज्नेहरुलाई अहिले आएर लोकतन्त्रको पक्षमा आवाज चलाउनेलाई डण्डा चलाउने ? त्रासको एउटा वातावरण बनाउन खोज्ने ?’