शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वप्रकाशलाई विष्णु रिजालको जवाफ : ३३ किलो सुन ल्याइँदा कांग्रेसको सरकार थियो

'देउवाकै पालामा सबै काम फत्ते भइसकेको थियो '

बुधबार, साउन २४ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता बिष्णु रिजालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन् ।
मंगलबार संसदमा शर्माले विगतमा भएको ३३ केजी सुन तस्करीमा एक ग्राम पनि सुन फेला नपरेको प्रसंग निकालेका थिए । उनको भनाइको अर्थ त्यो बेला सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेको भन्ने थियो । त्यसको जवाफमा विश्वप्रकाशकाे नाम नलिइ एमाले नेता रिजालले ३३ केजी सुन नेपाल भित्राउँदा कांग्रेसको सरकार रहेको जनाएका छन् ।

‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन्, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’

स‌सदमा सुन  प्रकरणलाई लिएर  बादबिबाद भइरहँदा रिजालको यो टिप्पणी सामाजिक सञ्जालबाट सार्बजनिक भएको हो ।

नेता रिजालले ३३ किलो सुन किन फेला परेन ? भन्ने प्रश्नको जवाफ समेत दिएका छन् ।

“विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनका बारेमा खोजबिन गर्दा एक तोला पनि पाइएन’ भनेर हिजो संसद्मा गृहमन्त्री बोलेको सुनियो र अरुले पनि त्यो कुरा उठाइरहेका छन् । यसको छानबिन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएकाले त्यसप्रति लक्षित गरी बोलेको बुझिन्छ ।
यथार्थ चाहिँ भिन्न छ ।” उनले भनेका छन् ।

‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो र जनार्दन शर्मालाई विनाविभागीय बनाएर उहाँले गृहमन्त्रालय पनि आफैँ सम्हाल्नुभएको थियो । अनि उहाँका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्थ्यो, जुन घटना २०७४ माघ ८ गते भएको हो । केपी ओली प्रधानमन्त्री त्यसको २५ दिनपछि अर्थात् २०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले भागबण्डा लगाएर सुन पुर्याउनुपर्ने ठाउँ (शक्ति केन्द्र) हरुमा पुर्याइसकेका थिए । पछि सरकारले छानबिन गर्दा केही अभियुक्तहरु फेला परेर, गोरे उप्रेतीलगायत जेलमा पनि छन् । तर, सुनको व्यवस्थापन २५ दिनभित्र नहुने कुरै भएन, देउवाकै पालामा सबै काम फत्ते भइसकेको थियो ।तथ्य यही हो । यसभन्दा केही फरक छ भने सार्वजनिक गर्दा हुन्छ । ‘ उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।