काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटि बैठक जारी छ ।
शनिबारदेखि जारी बैठक आजपनि बस्दैछ । जारी स्थायी कमिटि बैठकले आगामी केन्द्रीय कमिटि बैठकका एजेण्डा तय गर्नुका साथै पार्टीलाई नयाँ ढंगबाट कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।
दुई वर्षअघि नेकपा एमालेबाट फुटेर नेकपा एस गठन गरेका माधवकुमार नेपाललाई पछिल्लो समय कार्यकर्तादेखि नेताहरुसमेतले एक्ल्याउँदै गएका छन् । पार्टी विभाजनको बेलामा दरिलो साथ दिएका नेता कार्यकर्ताहरु नै पछिल्लो समय अध्यक्ष नेपालके कार्यशैलीप्रति तिब्र असन्तुष्ट रहेका छन् । धेरै नेता कार्यकर्ताले साथ छोड्दै गएका छन् भने कतिपय अझैपनि पार्टी नेतृत्व सुध्रिनेमा आशावादी बनेर पर्खिरहेका छन् । पार्टीका पछिल्लो समय अुन्तुष्ट रहने शीर्ष नेताको सूचीमा सम्मानित नेता झलनाथ खनालदेखि सचिव राकुमारी झाँक्रीलगायत रहेका छन् ।
पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका उनै सम्मानित नेता खनालले भने जारी स्थायी कमिटिको बैठकमा १६ पेज लामो आफ्नो दस्ताबेज दर्ज गराएका छन् । ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’शीर्षक राखेर दस्ताबेज पेस गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी नेतृत्वप्रति आक्रोसमेत पोखेका छन् ।
दस्ताबेज पेस गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ साथै उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताएका छन् ।
‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भनेका छन्, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’
त्यस्तै सम्मानित नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् ।
एमसीसी सम्झौता राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने गल्ती भनेका छन् । ‘अझ कथित, व्याख्यात्मक घोषणा त्यो केहि मानिसहरूको लागि लाज ढाक्ने धोती बाहेक केहि भएन । त्यसलाई अहिले सम्मका घटनाक्रमले साबित गरेको छ’, खनालको गम्भीर आरोप छ ।
खनालको दस्तावेजको पूर्णपाठ