काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ५६ केन्द्रीय सदस्यले सो प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए।
बुधबार र बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले ‘प्रचण्ड’को कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वले नै गुटलाई प्रश्रय दिएको आरोप समेत लगाएका थिए । जसका कारण माओवादी केन्द्रमा गुटगत क्रियाकलाप बढ्दै गएकोमा नेताहरूले चिन्ता समेत व्यक्त गरे ।
साथै केही नेताले पार्टीमा जर्नेल र युवराज युवराज्ञी प्रवृत्ति बढेको भन्दै कटाक्ष समेत गरे । उनीहरुले पार्टी कमजोर हुनु र बिग्रनुमा मुख्य नेता जिम्मेवार रहेको बताएका थिए । पार्टी लथालिङ्ग अवस्थामा रहेको र प्रस्तावित तीन महिने अभियान पनि असफल हुने उनीहरुको भनाइ थियो । केही नेताले पार्टी ओरालो लाग्नुको मुख्य कारण सैद्धान्तिक रुपमा समस्या देखिएको भन्दै ओरालो लागेको कम्युनिष्ट फेदमा नपुगेर उकालो नलाग्ने तर्क समेत गरे । शान्तिपूर्ण प्रतिस्पर्धात्मक लाइन बदनाम भएको रुपमा उनीहरुले धारणा राखे ।
बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।
बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । बिहीबारको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले दाहाल नेतृत्वको सरकारले थालनी गरेका सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका कामको समर्थन गर्दै पार्टी रुपान्तरणमा जोड दिएका थिए ।
बैठक यही असार १७ गतेदेखि सुरु भएको हो । हालसम्म ७४ सदस्यले आ–आफ्नो धारणा राखिसेका छन् । बैठक आज बिहान ११:०० बजे पुनः बस्ने तय भएको छ ।