शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पदाधिकारीसँगको छलफलपछि गगन र विश्वसँग छुट्टै छलफल गर्दै देउवा

सोमबार, साउन १ २०८०

काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्।

आज दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।

देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनस् छलफल गर्ने छन्।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ।  आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।

कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार एक बर्षपछि बस्दैछ । यसैबिच गगन थापाले केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नको लागि सुझाव मागेका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने महामन्त्री थापाले बताएका छन् ।

उनले भनेका छन्, ‘यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु। नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहानुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ नगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र सुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु ।’

महामन्त्री थापा कांग्रेस रुपमान्तरणको अभियानमा छन् । थापाले पार्टी संसदीय दलका नेता फेर्नुपर्ने अभिव्यक्ति लगातार दिन थालेका छन् ।

शनिबार विराटनगर पुगेर महामन्त्री थापाले दलको नेता हटाउने प्रयास निरन्तर रहने बताए । ‘म त दलको नेतामा लडेको मान्छे हुँ, हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोशिस हुन्छ’ महामन्त्री थापाको भनाइ थियो, ‘साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’

महामन्त्री थापा र उनी निकट नेताहरुले भने २०८४ मा हुने चुनावी सरकारको नेतृत्व देउवाले गर्न नहुने तर्क गरिरहेका छन् ।  महामन्त्री थापा भने संख्या हेरेर निर्वाचित हुनेरनहुने धेरै हिसाब किताब नगरी ठीक लागेको बेला सही कदम उठाउनुपर्ने तर्क गर्छन् । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल पनि उनलाई साथ दिन तयार देखिन्छन् ।