काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा संसदीय दलको नेता हुने कोसिस गरेको बताएका छन् ।
शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको छ । कांग्रेसमा पार्टीभित्र गुट उपगुटको आरोपरप्रत्यारोपको शृङ्खला निरन्तर चल्दै आएको छ । संस्थापन इतर पक्ष पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध रणनीतिक रूपमा लागेको छ । केही नेताहरूले रूपान्तरण अभियानको नाममा नेतृत्वविरुद्ध देशभर कार्यक्रम गरिरहेका छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहित संस्थापनइतर पक्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेको छ ।
महामन्त्री थापाले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने समेत बताए । उनँले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताए । उनले आफू संसदीय दलको नेता बदल्नेकुरामा नथाकेको पनि बताए । उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने बताए ।
महामन्त्री थापाले भने, ‘म त क्लियर छु हेर्नुहोस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ । तर, म थाकेको छैन, हारेको छैन ।’ नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरूबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै महामन्त्री थापाले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने जिकिर गर्दै भने, ‘नेपाली कांग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरूलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीँ दलभित्रै छ ।’ महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको छ ।’
पार्टीभित्र संस्थापन र इतर पक्षबीच अन्तरसंघर्ष चर्किरहेको बेला महामन्त्री थापाको यो भनाइ आउनु र यता सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसँग कांग्रेसको दुरी बढ्दै जानु भित्र सरकार परिवर्तनको आँकलन हुन थालेका छन् । प्रमुख प्रतिपक्ष दल एमाले लगायतका प्रतिपक्ष दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर संसद अवरोध गर्दै आएका छन् । एमालेले त प्रधानमन्त्रीको राजीनामा नै माग्दै आएको छ । रास्वपा र राप्रपालगायतका दलहरुले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिँदै आएका छन् । यसैबीचमा आएको महामन्त्री थापाको यो अभिव्यक्तिले गहिरो अर्थ राख्ने बताउन थालिएको छ ।