काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।
नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत अनित्म चरणमा पुगेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ । स्रोतका अनुसार सम्भवत भोलिसम्ममा नतिजा प्रकाशन गरिने छ ।
जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छन । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाफल असार तेस्रो साताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।
एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।
जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए । कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए । परीक्षा नियन्त्रणका कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो ।
यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।