बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

मंगलबारबाट नेपालमा मनसुन प्रवेश गर्ने, कस्तो रहला आजको मौसम ?

आइतबार, जेष्ठ २८ २०८०

काठमाडौं ।नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।

अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू(भागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ। साथै कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ  ।

अत्याधिक गर्मी तथा मेघगर्जनरचट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।