लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खान जाने बताएका छन्।
२५६७औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलेले यस्तो बताएका हुन् । प्रचण्डले आफू ‘जनयुद्धुबाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताए । ‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ,’ प्रचण्डले भने।
साथै उनले बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुबै गुण रहेको बताए । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको उनको भनाई थियो ।
प्रचण्डले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको पुष्टि गर्ने बताए। उनले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने समेत बताए ।
नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गरेको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।