शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने व्यक्ति जुनसुकै ओहदाको भएपनि कारबाही होस्’

बिहिबार, बैशाख २१ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने व्यक्ति जुनसुकै ओहदाको भएपनि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।’

सो प्रकरणमा अझै अनुसन्धान गरेर सबै दोषीलाई कारबाही गर्न थापाले माग गरेका छन् ।

सो प्रकरणमा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डेलगायत अनुसन्धानको घेरामा परेपछि थापाले कानून सबैलाई बराबरी हुनुपर्ने बताएका हुन् ।

यस अघि हिजो एमाले नेता महेश बस्नेतले पनि नक्कली लडाकु ,बालुवाटार, वाइडबडी लगायत सबै दोषीलाई कारबाही गर्न दलहरु एक हुनुपर्ने बताएका थिए । एमाले काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।