काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको संसदमा दोस्रो पटक इन्ट्री र गठबन्धन दलबीचको असन्तुष्टिका कारण वर्तमान सत्ता गठबन्धन धरापमा पर्ने र प्रचण्ड नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।
सत्तामा नरहेका तर सरकारलाई समर्थन दिएका दुई दल रास्वपा र जनमत पार्टीले प्रचण्ड सरकारसँग असन्तुष्टि व्यक्त गरिरहेका बेला थप माधव नेपाल नेतृत्वको नेकपा एस पनि गठबन्धनको व्यवहार प्रति असन्तुष्टि पोख्न थालेको छ ।
यसैबीच सत्ता राजनीतिमा सधै केन्द्र भागमा बस्न रुचाउने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उपनिर्वाचनबाट संसदमा इन्ट्री भए पश्चात प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाइ राख्न अझ चुनौति बढ्दै गएको राजनीतिका जानकारहरु बताउन थालेका छन् । उनी उपप्रधानमन्त्रीसहितको मालदार मन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने लबिङमा लागेका छन् । उता सिके राउत नेतृत्वको जनमत पार्टी पनि पर्ख र हेरको अवस्थामा सत्ता गठबन्धनप्रति अरुचि देखाउँदै आएको छ ।
यति बेला साना दललाई रिझाएर सरकार चलाउन प्रचण्डलाई थप चुनौति हुने देखिन्छ ।
सरकार बाहिर रहेको एमालेले आफ्नो दल सत्ता परिवर्तनको खेलमा नलाग्ने बताएपनि जुनसुक्कै मूल्यमा सत्ता गठबन्धन भत्काउने पक्षमा एमाले देखिन्छ । हिजोमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकार केहीसमय मात्र रहिरहे मुलुक टाट पल्टिने अवस्था आउने बताएका थिए । उनको भनाइबाटै एमाले सरकार परिवर्तनको खेलमा रहेको स्पष्ट हुन्छ ।
यस्तो आश्वासन पाएर लामिछानेले समेत राजनीतिक भेटघाटलाई तीव्र पारिरहेका छन् । उनी प्रचण्ड सरकारको तीन थान मन्त्री भन्दा पनि सरकारकै नेतृत्व लिने गरि अघि बढेका छन् । उनको नेतृत्वलाई स्वीकार गर्नुपर्ने कांग्रेस भित्र पनि चर्चा हुन थालेको बुझिएको छ ।
प्रचण्ड सरकारको पफर्मेन्सलाई लिएर कांग्रेस भित्र नै खटपट भइरहेको देखिन्छ । कांग्रेसकै कारण सरकारले पूर्णता समेत पाउन सकेको छैन ।
कांग्रेस भित्रै पनि सरकारप्रति असन्तुष्टिका स्वर सुनिन थालेका छन् । महामन्त्री गगन थापाले त पटक पटक प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आलोचना तथा सुझाव दिइ राखेका छन् । कांग्रेस संस्थापन इतरपक्षका अधिकांश नेता सरकारले माओवादीका अयोग्य लडाकुलाई जनही दुई लाखका दरले दिन लागेको रकमको विरोध गरिरहेका छन् । यता माओवादीका नेताहरुले भने त्यसको बचाउ गरिरहेको बेला सत्ता गठबन्धनको सम्बन्धमा यसले थप दरार ल्याउने देखिन्छ ।
प्रदेश सरकार गठनमा सत्तारुढ दलका घटकबीच नै मनमोटाव सुरु भएको अवस्था छ । यसैबीच एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीर्ला बेवास्ता गरेर एकलौटी रुपमा सरकार चलाउने व्यवहार आफूहरुलाई स्वीकार्य नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भने ।
आफूहरुसँग गठबन्धनज टिकाउने क्षमता, खुबी र हिस्सेदारी रहेको बताउँदै अध्यउक्ष नेपालले तर, आफूहरुलाई पीडा दिने खालको व्यवहार देखिसकेकाले मर्माहत भएको बताए ।
उनका अनुसार खासगरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ । कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै उनले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिए ।