सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अन्तर्राष्ट्रिय श्रमिक दिवस

एमाले अध्यक्ष ओलीको सन्देशः सामाजिक सुरक्षा कोषको स्थापना, श्रमिककाे ज्यालामा इतिहासमै उच्च बृद्धि गरेको स्मरण

सोमबार, बैशाख १८ २०८०

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे, २०२३) का अवसरमा सबै श्रमिक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि र सम्मानित जीवनको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज दिएको शुभकामना सन्देशमा नेकपा (एमाले) को अगुवाईमा नेपालको संविधानमा मौलिक हक र कर्तव्यमा श्रमिक अधिकारलाई सुनिश्चित गरिएकोे र एमालेको सरकारले उद्यमी र श्रमिक बीच उच्च समझदारी कायम गरी श्रमिकको ज्याला इतिहासमै उच्च (३९ प्रतिशत बृद्धि) बनाएको स्मरण गरेका छन् ।

अध्यक्ष ओलीले त्यसबाट नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको र फलस्वरुप हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको स्मरण गरेका छन् ।

श्रमजीवी वर्गको हितमा नेकपा (एमाले) को सरकारले सामाजिक सुरक्षा कोषको स्थापना जस्ता ऐतिहासिक र महत्वपूर्ण कामको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटाइएपछि सामाजिक परिवर्तन, आर्थिक विकास, सुनिश्चित श्रम जीवनको यात्रा अवरुद्ध हुन पुगेको बताएका छन् ।

अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्– नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्छौं र रोकिएका समृद्धिका हाम्रा पाइलाहरूलाई अगाडि बढाउन सक्छौं । नेकपा (एमाले) को यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहने छ भन्ने मेरो विश्वास छ ।

अध्यक्ष ओलीले नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भएको र राणाशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत एमालेसँग रहेको बताएका छन्।

साथै सन् १८८६ मा अमेरिकाको सिकागोमा मजदुर आन्दोलनमाथि भएको चरम दमनको स्मरण गर्दै मजदुरलाई आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित सन् १८९० देखि विश्वभरि श्रमिक दिवस मनाउँदै आएको, सन् १९१९ मा अन्तराष्ट्रिय श्रम संगठन स्थापना भएको र नेपालमा उक्त संगठनको कार्यालय नेकपा ९एमाले० को अल्पमतको सरकार बनेपछि स्थापना भएको अध्यक्षको सन्देशमा उल्लेख गरिएको छ ।