काठमाडौं । न्यूनतम नीति तथा कार्यक्रमबाट भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा हटाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाउ दिएको छ ।
नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुँदा नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेको भन्दै रास्वपाले फिर्ता लिने सम्भावना बढेको छ ।
सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रिय तथा संसदीय दलको बैठक बोलाएको छ ।
‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रवार सपथ पछि लामिछानेले भनेका थिए ।
यसैगरी, सोमवार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिईसकेका छन् ।
यसैबीच सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
उनी आज प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिएका छन् ।
नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।