सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

महावीर पुन गत रातभर पनि धर्नामा, ऐक्यबद्धता जनाउने क्रम जारी

आइतबार, बैशाख १७ २०८०

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन दोस्रो रातमा पनि माइतिघर मण्डला सुतेका छन् ।

शुक्रवार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले आइतरवार रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेका हुन् ।

शनिवार दिउँसो देखी नै मुसलधारे पानी परे पनि पुनको टोली भने कठयाङिद्रो चिसोमा त्रिपालमुनी बसेको थियो । उनले त्यसको भिडियो पनि सार्बजनिक गरेका छन् ।  ‘धर्ना जारी छ र हुनेछ, आज राती पनि यतै सुत्ने हो’ शनिवार साँझ नै उनले जानकारी दिदै भनेका थिए ।

शनिवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलगायत उनको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुगेका थिए ।

उनले शुक्रवारको रात पनि माइतीघर मण्डलाको सडकमा नै सुतेर कटाए थिए । ‘लु, हामी चाहीँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनु होस्,’ पुनले शनिबार बिहान जानकारी दिदैँ भनेका थिए, ‘के त होला र रु केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि ।’

आविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन् ।

‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु ।’

यसैबीच पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ ।

हिजो साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रर्दशन गरेका छन भने नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वतः स्फुर्त रुपमा प्रदर्शन भएको छ ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवार देखी धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुले देशैभरीवाट क्रमशः प्रदर्शन सुरु गरेका हुन्।