काठमाडौं जेठ, १७–
नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले लामो व्यवसायिक ज्ञान भएका अर्थमन्त्री युवराज खतिवडालाई सिंगारले भरिएको सबै चुनावी नारालाई बजेटमा भर्न कठिनाई भएको र आफूले त्यो समस्या बुझेको बताएका छन् । गत जेठ १५ गते अर्थमन्त्रीले प्रंस्तुत गरेको बजेटको छलफलमा भाग लिदै नेता रिजालले वर्तमान सरकारले आफ्नो चर्को राष्ट्रवादको नाराजस्तै भोट आकर्षित गर्न ल्याएको चुनावी नारालाई पनि बीचैमा छाडेको समेत आरोप लगाए । संसद बैठकमा बोल्दै नेता रिजाले भने, ‘कम्युनिष्ट घोषणा पत्रले थुप्रै कुरा गरेको थियो । अब चुनाव सकियो अब किन घोषणापत्र तर्फ फर्कने भन्ने लाग्यो होला ।’
उनले जस्तो सुकै ठूलो पदमा पुगे पनि एउटा व्यक्तिको हठ र अहंकारबाट समृद्धिको यात्रा शुरु नहुने पनि बजेटबाट प्रष्ट भयो । ‘यो कुरा जलमार्गमा गरेको बजेट विजियोजनबाट प्रष्ट हुन्छ,’ उनले भने ।
नेता रिजाले एमाले नेता सुवास नेम्वाङले एक वर्षभित्र मोरङबाट हिन्द महासागरसम्म जहाज चलाउने सपना देखेको प्रति व्यङ्ग्य गरेका छन् ।
‘एक जना माननियले हिन्द महासागर जाने निम्ता दिनुभएको थियो । तर, त्यसको सम्भावयता अध्ययन गर्न एक वर्ष लाग्ने भयो । अब अध्ययन सम्भावयता सकिएपछि निम्ताबारे अर्को वर्षको वजेटमा त्यसबारे कुरा गरौँला,’ उनले भने ।
उनले देशको प्राथमिकता जलमार्गभन्दा उर्जा क्षेत्रमा बढी हुनुपर्नेमा पनि जोड दिँदै तमोर जलविद्युत आयोजनाको विकासलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गरे ।
उनले उर्जामा ५ वर्षसम्मको योजना भए पनि त्यसपछिको योजना स्पष्ट नभएको पनि बताए ।
निर्वाचन क्षेत्र कार्यक्रममा सहमति भएको छैन
नेता रिजालले अर्थमन्त्रीले दाबी गरे अनुसार राजनीतिक सहमतिमा निर्वाचन क्षेत्र कार्यक्रम नआएको पनि दाबी गरे ।
उनले यसबारे अर्थमन्त्रीले प्रतिपक्षसँग कहिले पनि छलफल नगरेको दाबी गर्दै अर्थमन्त्रीको आफ्नो पार्टीभित्र मात्र सहमति भएको जिकिर गरे । ‘आफ्नै दलका सांसदको दबाबबाट आएको भनेका भए जाती हुन्थ्यो,’ उनले भने ।
उनले बजेटलाई प्राथमिकताविहीन कार्यक्रमको फेरिहस्त बताउँदै यसले निर्भरता बढाउने जिकिर गरे ।
बजेटले निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीलाई हतोत्साहित गर्ने पनि उनको दाबी थियो ।
राजश्व संकलनमा बजेट महत्वकांक्षी देखिएको भन्दै यसले जनतामाथि कर र ऋणको बोझ मात्र थप्ने बताए ।
उनले बजेटमा रोजगारी सृजनाभन्दा सत्तासिन दलका कार्यकर्तालाई पोस्ने कार्यक्रम समावेश गरेकोमा आपत्ति प्रकट गरे । समृद्धिको नारा भएपनि बजेटमा कार्यक्रम र योजना नभएको स्पष्ट उनले पारे ।
नेता रिजाले समृद्धिका लागि आवश्यक पूर्वाधकार विकास अन्तरगत सडकको बारेमा स्पष्ट कुरा नआएको पनि बताए । उनले निजगढ विमानस्थल किन प्राथमिकतामा परेन भनेर पनि प्रश्न गरे ।