आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बिस्केट जात्रा : ढुङ्गा हानाहान हुँदा २३ जना घाइते

मंगलबार, चैत्र २८ २०७९

भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे ।

हिजोदेखि सुरु भएको किस्केट (बिस्काः) जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भए । भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिए । उनले घाइते सबैको उपचार गरी राति नै घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको बताउनुभयो ।

ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको थियो । उनले भने, “जात्रामा ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरु माध्यमबाट थप ढुङ्गा हान्नेहरु पहिचान गरी पक्राउ गर्नेछौँ । पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्छौ ।”

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताए। उनले मानवीय क्षति नभएको जानकारी दिँदै जात्रा अवधिभर शान्ति सुव्यवस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने जानकारी दिए ।

आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । प्यागोडा शैलीमा निर्माण भएको रथमा बिहानदेखि सबै पूजा सम्पन्न गरेर दिउँसो ४ बजेदेखि प्यागोडा शैलीमा निर्माण भएको रथभित्र भैरबनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई मन्दिर प्राङ्गणबाट थने९माथिल्लो० र क्वने९तल्लो० टोलतर्फ सोमबार रथ तान्न सुरु गरिएको थियो ।