काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाएको विषयमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले मुख खोलेका छन् ।
आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रूपमा नै टुंगिएको जिकिर समेत गरे ।
उनले मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबाबमा नगरेको र उक्त विषयमा प्रमाणको मूल्यांकन गरेर नै मुद्दा नचलाउने निर्णय गरेको स्पष्टीकरण दिए ।
महान्यायाधिवक्ता पोखरेलले भने, ‘प्रकियासम्मत रूपमा छानविन टुंगिएको हो । राजनीतिक सौदावाजी र दबाबमा टुंगिएको हैन, तपाईंहरूलाई महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्त हुने भएकाले राजनीतिक रूपमा टुंग्यायो भन्ने लाग्ला । तर, हामी विधि र प्रक्रियाअनुसार मुद्दा नचल्ने निर्णय गरेको हो ।’
महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेस गर्न भनिएको र त्यसैअनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको समेत बताए । प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताले पनि सदर गरेको थियो ।
‘राहदानीको विषयमा कतै त्रुटि नदेखिएको सो निर्णयको स्वामित्व लिने बताए । पोखरेलले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटि छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रूपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने निर्णय लिएको जिकिर रे । उनले भने, ‘अनुसन्धानको प्रक्रियामा कहीँ त्रुटि छ भनेर अदालतले कतै लेखेको रहेनछ । भनेपछि अनुसन्धान पूरा भएर प्रक्रियागत आयो, त्यसपछि काठमाडौं सरकारी वकिल कार्यालयमा आयो, त्यसपछि उच्चमा गयो, मकहाँ आउँदा पनि यहाँभित्र पनि एकजना सहन्यायाधिवक्ता र एकजना नायव महान्यायाधिवक्ताको माध्यमबाट आउँछ’
‘‘राहदानी प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो, त्यसैले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोडिनु अन्याय हुन्छ, त्यसो गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ ।’’ उनले भने ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैतमा रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ ।
बुधबार न्यायाधीश हरि फुँयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
युवराज सफल (पौडेल)ले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए ।