बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वरिष्ठता र कार्यक्षमतादेखि सबै कुराले सशस्त्र प्रहरी बलमा खनाल बलिया

सोमबार, फाल्गुन २८ २०७४

काठमाडौं फागुन, २८–
 वरिष्ठता र कार्यक्षमताको मूल्यांकनमा उच्च हुँदा हुँदै पनि नेपाल प्रहरीमा नवराज सिलवाललाई महानिरीक्षक नबनाइँदा उनका पक्षमा उभिएका केपी शर्मा ओलीले अब सशस्त्र प्रहरी बलमा कसो गर्लान् भन्ने आम चासो उत्पन्न भएको छ । किनभने हालमा महानिरीक्षक सिंहबहादुर श्रेष्ठको पदावधि सकिन लागेको छ । उनीपछि पालो शैलेन्द्र खनालको नै आउँछ । किनभने वरिष्ठता र कार्यक्षमताको दृष्टिले महानिरीक्षक का प्रबल दावेदार खनालनै हुुन् । सशस्त्रमा अहिले नौ जना एआइजी छन् । महानिरीक्षकका लागि नौ जना नै एआइजी दौडमा लागि सकेका छन् । पावर र पैसाकै बलमा महानिरीक्षक हुन सकिने विगतका दृष्टान्तहरुका कारण विभिन्न शक्ति केन्द्रहरुमा जुनिएर एआइजीहरु पनि धाउन थालिसकेका छन् । खनालपछि विवादास्पद पुष्पराम केसी पनि एआइजीको दौडमा छन् । यदि पुष्पराम केसी महानिरीक्षक भए भने हालका गृहमन्त्री रामबहादुर थापा बादलबाट सुशासनको आशा तत्काल नै नगर्दा हुन्छ । बादलको परीक्षण पनि आइजिपी छनोटमा देखिनेछ ।
सक्षम र वरिष्ठताको आधारमा आइजिपी छान्ने हो भने खनालको पल्ला भारी छ । सबै दृष्टिले उनी नै हुन्छन् । तर क्षमता भन्दा पनि अरु नै कुराले बढुवामा काम गर्ने भएकोले  खनाललाई पाखा लगाउन तिकडम सुरु पनि गरिएको छ । जस्तो कि सशस्त्र प्रहरी बलले नेपाली सेनाबाट माइन प्रोटेक्टिभ भेहिकल खरिद गरेको छ । यस्तो खरिदमा आइजिपीको इच्छाविपरीत केही पनि हुँदैन भन्ने जगजाहेर नै छ । खरिद गर्ने नगर्ने भन्ने विषयमा आइजिपी हुँदा हुँदै एआइजिपीहरुको भूमिका हुँदैन । तर त्यो खरिदमा सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत शैलेन्द्र खनालले नै भूमिका खेले भन्दै उनको दूष्प्रचारमा केही तत्वहरु सल्बलाउन थालिसकेको छन् ।
शैलेन्द्र खनालपछि पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई प्रतिस्पर्धी मानिएको छ । प्रत्येक प्रदेशमा एआइजी खटाउने सरकारले संरचना तयार पारेको थियो । त्यही संरचना अनुसार प्रदेशमा पठाउन हालसालै बढुवा गरिएका पाँच जना एआइजीहरु पनि आइजिपी हुने दौडमा लागेका छन् ।
अहिले सशस्त्रमा रहेका एआइजीहरु मध्ये दुई जना हालका आइजिपी सिंहबहादुर श्रेष्ठकै ब्याजी दुई जना छन् । उनीहरु श्रेष्ठसँगै ३० वर्षेमा चाँडै बिदा हुँदैछन् । उनीहरु हुन् प्रेमकुमार शाही र प्रकाश ओझा । जानकीराज भट्टराई, सुवोध अधिकारी, खडानन्द चौधरी, निराकरविक्रम शाह र राजेश श्रेष्ठ एआइजिपीहरु हुन् । यिनीहरुलाई प्रदेशको कमाण्ड सम्हाल्नका लागि मात्रै बेलै नभई बढुवा गरिएको थियो । तर अब यिनीहरुको मनोबल यति बढ्यो कि महानिरीक्षक पनि भइहाल्ने भन्दै दौडमा सामेल भएका छन् । यि मध्य कोही महानिरीक्षक भए भने सशस्त्र प्रहरी बलमा हालसम्म नभएको भाँडभैलो हुने स्रोत बताउँछ ।
महानिरीक्षकका  प्रतिस्पर्धा गर्नेमा शैलेन्द्र खनाल एक नम्बर प्रतिस्पर्धी हुन् । यिनलाई पार नलगाई कसैले पनि महानिरीक्षकसम्मको यात्रा तय गर्न सक्दैन । तर त्यति गर्न सजिलो छैन । किनभने वरिष्ठता, क्षमता र सदाचारका कारण खनाल अरुका लागि भारी नै हुन्छन् । सरकारलाई समेत यिनको विकल्पमा अरु मानिस अगाडि सार्न गाह्रो हुन्छ । किनकी शैलेन्द्रको विकल्पमा ल्याइने व्यक्तिमा केही विशेषता उनीसँग मिल्दा जुल्दा हुनुपर्छ । खनालको जस्तै छवि बनाएका  अन्य एआइजिपी कोही पनि नहुँदा उनलाई धेरैहदसम्म सजिलो पनि भएको छ ।
मानव स्रोत व्यवस्थापन शाखा हेरिरहेका खनाल संगठनभित्र पोलिसि मेकरका रुपमा परिचित छन् । २०६९ सालमा डिआइजी हुँदा उनी एक नम्बरमा थिए । तेस्रो वरियतामा जितबहादुर पुन थिए । दोस्रो नम्बरमा पुष्पराम केसी थिए । पुष्पराम केसी अहिले एआइजिपी त छन् तर सशस्त्र प्रहरी बलको एपिसी खरिदमा घोटला गरेपछि मिसन गुमाउन बाध्य भए । भ्रष्ट छबि बनाएका कारण केसीको सम्भावना प्रायः छैन भन्ने गरिन्छ ।  अर्का दाबदेदार नारायणबाबु त गुणस्तर एआइजिपी भनेर चर्चा हुने गर्छ  । किनभने यिनले एक ठेक्कामा तीन वटा कम्पनीको सामानको नमुना पठाएर आफ्नो गुणस्तर विगारेका थिए ।
यसकारण पनि अबको दुई हप्तामा नयाँ आइजिपीको रुपमा खनालको उदय भयो भने अनौठो नमाने हुन्छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।