काठमाडौं फागुन, १८–
गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र प्रहरीको सरहाना गरेका छन् । शुक्रबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षण गर्न पुगेका मन्त्री थापाले उक्त कुरा बताएका हुन् । उनले तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन् ।
गृहमन्त्री थापाले निरीक्षणपछि व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई आग्रह समेत गरे ।
सुरक्षा निकाय चेन अफ कमाण्डमा चल्नुपर्ने संगठन भएकाले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारी पूरा गर्न पनि उनले सशस्त्र प्रहरीलाई आग्रह गरे ।
गृहमन्त्री थापाले सीमित साधनस्रोतको बाबजुद उल्लेखनीय कार्य गरिरहेको सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताको लागि गृहमन्त्रालयले संभव भएसम्मको प्रयास गर्ने प्रष्ट पारे ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बललाई भरपर्दो केन्द्रीय सुरक्षा निकायको रुपमा अगाडि बढाइ हरपल चलायमान फौजको रुपमा विकास गर्दै लैजानुपर्ने बताए ।