काठमाडौ, फागुुन १२
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५१ औं वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बीमा र वित्तीय क्षेको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताउनुभएको छ ।
वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम हुने भन्दै उहाँले सम्पत्ति र दायित्वको जोखिम भार बहन गर्ने क्षमता नै बीमा भएको प्रष्टयाउनुभयो । प्रतिष्पर्धी बन्दै गएको बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरुसामु आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै गर्भनर नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफुलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच बृद्घि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्घारा संस्थानल आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले समयानुकुल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिष्पर्धामा उत्रन आग्रह गर्नुभयो । आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिष्पर्धी कार्य प्रणालीको अबलम्बन गर्दै जीवन बीमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न सुझाव दिनुभयो ।
बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिंदै संस्थान प्रतिष्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता बृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताउनुभयो । बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उहाँले बताउनुभयो । मुलुक संघीय संरचनामा पूण रुपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोही बमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको अध्यक्ष डा. खरेलले जानकारी दिनुभयो ।