काठमाडौं फागुन, १०–
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच ‘वान टु वान’ कुराकानी भएको हो ।
आज भएको वार्तामा मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे छलफल भएको छ । आजै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने तयारी समेत गरेको छ ।
ओली निकट स्रोतले जनाए अनुसार ओली र प्रचण्डले कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा सहमति गरेर कार्यदलले अनुमोदन गर्ने तयारी गरिएको छ । छलफलले निष्कर्ष निकालेमा आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा ओली रहेका छन् । ओली सरकार बनेपछि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्य मात्र मन्त्री नियुक्त भएका छन् ।