साउदी/टिकाराम ओली–
शुक्रबार नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती साउदीले २३ औं जनयुद्ध दिवस मनाएको छ । नेपाली जनप्रगतिशिल मोर्चा साउदीका कार्यवाहक अध्यक्ष युबराज कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम हजारौ ज्ञात अज्ञात शहिदहरुप्रति मौनधारण गर्दै सुरु गरिएको थियो । बिपुल ढुंगानाको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्द्र कुमार विकले प्रचण्डको बाक्लो दाह्री जुंगा तथा बाबुरामको एशियाको तारा भएकै कारण उनीहरुको पछाडी हजारौ जनता नहोमिएको बताए । त्यस्तै अर्का नेता सेते मगरले भने, ‘अवको एकीकृत जनक्रान्ति कुनै पनि हालतमा विचलित हँदैन, यहि क्रान्तीबाटनै नेपाली जनताले आमूल परिवर्तन ल्याउने छन।’
त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका युबराज कार्की (शेखर) ले नेपाल कम्युनिष्ट पार्टीले ल्याएको एकीकृत जनकान्तिले मात्रै अवको साम्राज्यवाद तथा विस्तारवादको अन्त्य गर्न सक्ने ठोकुवा गरे । उनले अहिले नेपालका राजनेता भनाउदाहरु साम्राज्यवाद र विस्तारवादको इशारमा मात्र चल्ने भएको भन्दै उनीहरुले नेपाली जनता लाई भ्रमित बनाउदै बिरोलोले मुसा खेलाएझैं खेलाउने र राज्यको ढुकुटी लुटेर आफ्नै महल मात्रै खडा गर्ने गरेको बताए । उनले त्यस्ता भ्रममा नपर्न सम्पूर्ण युवाहरुलाई अपिल गर्दै अव तमाम युवाहरु एकचोटि एकीकृत जनक्रान्तिमा होमिनु पर्ने बेला भएको प्रष्ट पारे ।
त्यस्तै, अर्का नेता टिकाराम ओलि ‘सुरेश’ ले नेपाली भुमिमा मात्रै नभएर प्रवासी भुमिमा समेत अहिले दलाली प्रवृति बढ्ने क्रम तिव्र रहेको भन्दै नेकपा को प्रवासी संगठनले त्यस्ता व्यक्तिहरुलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिए । नेकपाको प्रवासी संगठनले२३ औं जनयुद्ध दिवस कै अवसरमा नेपाली जनप्रगतिशिल मोर्चा रियाद क्षेत्रीय समिति समेत गठन गरेको छ । इन्द्र कुमार वीक र प्रविण जीसी सल्लाहकार तथा सेते मगर अध्यक्ष रहेको ९ सदस्ययीय समिति गठन गरिएको हो । समितिका अन्य सदस्यहरुमा उपाध्यक्ष– थमु गुरुङ, सचीव नन्दकिशोर के.सी, सहसचिवः खिमबहादुर पुनमर , कोषाध्यक्ष हिक्मत रोकामगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दुर्गा ओलि, दलबहादुर वीक, अशोक चौधरी तथा गणेश नेपाल रहेका छन् ।