बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा मुख्यमन्त्री बन्ने पक्का

आइतबार, माघ २८ २०७४

काठमाडौं माघ, २८–
नेकपा एमालेको प्रदेश नम्बर ४ को प्रदेशसभा संसदीय दलको नेतामा  सचिव पृथ्वीसुब्बा गुरुङ  सर्वसम्मत चयन भएका छन् । अब गुरुङलाई ४ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

आइतबार बिहान बसेको प्रदेश कमिटीको बैठकले गुरुङलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। दलको नेता चयन भएसँगै गुरुङले प्रदेश नम्बर ४ को प्रादेशिक सरकारको नेतृत्व गर्नेछन्।

एमाले र माओवादी केन्द्रबीचको सहमति अनुसार प्रदेश नं ४ को मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर पार्टीका अर्का प्रभावशाली नेता किरण गुरुङले पनि उक्त पदमा दावी गरेपछि लामो समयसम्म यसबारे एमालेमा अन्योल रहेको थियो ।

अन्तिम समयमा आएर किरणले दाबी फिर्ता लिएपछि पृथ्वीसुब्बाको नाममा सहमति जुटेको हो। दुवै नेता पार्टीभित्र अध्यक्ष केपी ओली निकट मानिन्छन्।

यसअघि प्रदेश नम्बर १ र ३ मा एमालेले निर्वाचनबाट दलको नेता चयन गरेको थियो। यो सँगै अब सातै जना मुख्यमन्त्रीको नाम टुंगो लागेको छ ।