उर्लाबारी माघ, २२–
माघ २६ गते नेकपा एमालेको प्रदेश नं १ को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेभएको छ । संसदीय दलको नेता चयनको निर्वाचन विराटनगरमा हुने भएको छ ।
सोमबार बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ ।
प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आएका छन्।
उनीहरूबीच सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको हो । प्रदेश नं १ मा एमाले एक्लैको बहुमत रहेकाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने छन् ।