कास्की माघ, २१–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको बहुमत आयो भन्दैमा कांग्ेस चुप लागेर नबस्ने बताएका छन् । आइतबार कास्कीको पोखरामा आयोजित कार्यक्रममा बोलदै नेता सिंहले कांग्रेसविरुद्ध वाम गठबन्धनले गोयबल्स शैलीमा गलत प्रचार गरिरहेकोले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले वामपन्थीको नाममा सर्वसत्तावाद लाद्न खोजे पार्टी चूप लागेर नबस्ने समेत चेतावनी दिए ।
उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘वाम गठबन्धन सरकारले हाम्रो बहुमत छ भनेर संविधान भनेको केहि होइन, बिधान भनेको केही होइन भन्यो भने कांग्रेस चुप लागेर बस्दैन, लेखेर राखे हुन्छ ।’
कांग्रेस नेता सिंहले कांग्रेसले कुनै प्रकारको सर्वसत्तावाद र अधिनायकवादको सशक्त तथा प्रजातान्त्रिक प्रकारले प्रतिवाद गर्ने प्रष्ट पारे ।
कम्युनिष्टहरुले कांग्रेसलाई गलत आरोप लगाउने गरेको र कांग्रेस नेताहरु भद्रभलादमी बनेर बसेको नेता सिंहको भनाई छ ।
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने,‘कम्युनिष्टले चार्ज लगाउँछ हामी चाहिँ प्रतिवाद के गरिराख्ने भनेर भद्रभलादमी भएर बस्छौं । अनि शिकार चाहिँ त्यसैमा हुन्छ,’ ‘गोयबल्स शैलीको प्रचार छँदैछ, झुठ कुरा हजारचोटि भनेपछि त्यही सत्य ठानिन्छ, यहाँ कम्युनिष्टहरुले पनि त्यही गर्छन् ।’
कम्युनिष्टहरुले कांग्रेस सत्ताको लोभी बनेको भनेर गलत आरोप लगाएको उनको भनाइ थियो । ‘कांग्रेस खाली सत्तामा बस्ने पार्टी हो भनिन्छ । २००३ सालमा स्थापना भएको पार्टी कति वर्ष सत्तामा बस्यो ?’ उनले प्रश्न गर्दै भने, ‘संविधानसभाको निर्वाचनपछि पनि सबैभन्दा बढी सरकारको नेतृत्व त वामपन्थीले नै गरेको छ त ।’
फरक प्रसंगमा नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवा विधान विपरित चलेको भन्दै पार्टीलाई विधानअनुसार चलाउन सुझाव दिए । उनले विधानअनुसार पार्टी चलाउ भन्दा पार्टी फुटाउन खोज्यो भन्ने आरोप लाग्ने गरेको गुनासो समेत गरे ।