१९ माघ, काठमाडौं–प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा पुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ ।
पाण्डेका अनुसार आगामी २५ या २६ गते काठमाडौंमा दलको नेता छान्न चुनाव हुनेछ । राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न सबै सांसद राजधानी जाने भएकाले त्यहीँ नेता चुनिने उनले बताए । शाक्यले भने निर्वाचनभन्दा सर्वसम्मत गराउनमै जोड दिइरहेकी छन् । यसका लागि उनले पार्टी अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालसमेतलाई दबाब दिँदै आएकी छन् ।
चुनाव भए आफू बाहिरिन सक्ने भय शाक्यमा देखिन्छ भने पाण्डे आफू नै चुनिनेमा ढुक्क छन् । यद्यपि शाक्य निर्वाचनमै गए पनि आफू पछि नहट्ने बताउँछिन् ।
यस प्रदेशमा एमालेको एकल बहुमत भएकाले सभामुख निर्वाचनलगत्तै मुख्यमन्त्री चयन हुने सम्भावना छ । एमाले सभामुखको निर्वाचनअघि नै दलको नेता चयन गर्ने पक्षमा छ । यहाँ कुल १ सय १० सांसदमध्ये एमालेका मात्रै ५८ जना छन् । बिहीबारको संसद् बैठकले सभामुख छान्न माघ २७ गतेको मिति तय गरिसकेको छ ।
मुख्यमन्त्रीका प्रतिस्पर्धी पाण्डे र शाक्य आफू वरिष्ठ रहेको भन्दै सांसद आकर्षित गर्ने प्रयासमा छन् । यी दुवै यसअघि पूर्वप्रधानमन्त्री नेपाल पक्षीय हुन् ।