काठमाडौं माघ, १८–
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।
नेता कोइरालाले राजीनामा दिएर काम चलाउ सरकारको रुपमा काम गर्न समेत देउवालाई सुझाव दिएका छन् । बिहिबार
विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियनले गरेको नेता कोइरालाले भने, ‘जनताले हाम्रो पार्टीलाई अहिले प्रतिपक्षमा बस्न म्यान्डेट दिएको छन्, यो अवस्थामा नैतिकता भएको खण्डमा प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिएर काम चलाउ सरकारको प्रधानमन्त्रीका रुपमा बस्नु उचित हुनेछ ।’
देउवा अलोकतान्त्रिक बनेको र उनीसँग नैतिकतासमेत नभएको नेता कोइरालाको आरोप छ । जनमत नपाएको सरकारले तत्काल राजीनामा दिएर कामचलाउ बन्दै बस्नु पर्नेमा महत्वपूर्ण र दूरगामी निर्णय गर्दै सभापति देउवा सरकारमा बसेकोमा कोइरालाले आक्रोशसमेत ब्यक्त गरे ।
‘नैतिकता संस्थासँग हैन, व्यक्तिसँग रहन्छ, उहाँको स्थानमा म भएको भए राजीनामा दिएर कामचलाउ भइसक्थेँ’ नेता कोइरालाले भने ।
कोइरालाले लोकतान्त्रिक पार्टी कांग्रेस नेतृत्वको सरकार कामचलाउ बनेपछि गरेका कतिपय निर्णयहरु लोककल्याणकारी लागे पनि त्यसले देशलाई आर्थिक समस्यामा फसाउने बताए ।
बृद्धभत्ता, दलित, एकल महिला भत्तामा बृद्धि र उमेर हद निर्धारण तथा राजनीतिक नियुक्तिहरु गर्नु गलत कार्यशैलीको उपज भएको भन्दै उनले यी निर्णयहरु देशको हितमा नभएको बताए ।