बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रियसभामा बादलको जित सुनिश्चत गर्न एमालेका बेदुरामले लिए उम्मेदवारी फिर्ता

सोमबार, माघ १५ २०७४

 

काठमाडौं माघ, १५–
राष्ट्रियसभामा उम्मेदवारी दिएका एमाले नेता बेदुराम भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश ३ को खुला कोटाबाट एमालेको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका नेता भुसालले माओवादी नेता रामबहादुर थापाको जित सुनिश्चत गर्न भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।  प्रदेश ३ बाट खुला सदस्यमा एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल उम्मेदवार छन् भने माओवादीबाट रामबहादुर थापा वादल उम्मेदवार बनेका थिए । 

प्राथमिकता क्रममा एक नम्बरमा बास्कोटा, २ नम्बरमा बादल र तेस्रो नम्बरमा भुसाल थिए । तर, नेमकिपा लगायतका साना दलले समर्थन नगरेपछि तीनमध्ये २ सिट मात्र वाम गठबन्धनले जित्न सक्ने देखिएको छ ।

त्यस्तो अवस्थामा एमालेको भोट वादललाई नआउने र उनले चुनाव हार्न सक्ने भन्दै माओवादी झस्किएपछि एमाले र माओवादी शीर्ष नेताहरुको बैठक सोमबार बसेको थियो, जहाँ भुसालको उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।

त्यही सहमति अनुसार भुसालले उम्मेदवारी फिर्ता लिए । ‘बादलजीलाई अप्ठ्यारो पर्ने र त्यसले पार्टी एकतामै असर गर्न सक्ने कुरा आयो’ भुसालले भने, ‘पार्टी एकतामा नै अप्ठ्यारो पर्छ भने म त्याग गर्न तयार छु भनेर फिर्ता लिएँ ।’