काठमाडौं माघ, २–
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने बिषयमा एमाले तथा माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । नेताहरुसँगको यो अनौपचारिक छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक समेत बोलाइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले एमाले र माओवादीका नेताहरुलाई अनौपचारिक छलफलका लागि बिहान ९ बजेपछि बालुवाटारमा बोलाइएको जानकारी दियो । देउवाले आजै आफ्नै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।
एमाले(माओवादीसँग छलफलपछि मंगलबार दिउँसो चार बजेपछि मन्त्रिपरिषद बैठक बस्ने तय भएको छ र सम्भवत सोही बैठकबाट प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने छ ।
निर्वाचन आयोगले सरकारले प्रदेश प्रमुख नतोकिँदा प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।