राजविराज पुस, २८–
नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ ।
काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उनको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा निधन भएको काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले राससलाई बताए ।
५८ वर्षीय माझी केही समययता मिर्गौलाको रोगबाट पीडित थिए । २०३९ सालमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघबाट सभापति पदमा उनी निर्वाचित भएका थिए ।
जिल्ला खेलकुद विकास समिति, सप्तरीको अध्यक्षसमेत भइसकेका माझीलाई काँग्रेसको झण्डा ओढाएर विहिबार श्रद्धाञ्जली अर्पण गरियो । उनको हिजै साँझ राजविराजमा दाहसंस्कार गरियो । माझीका दुई छोरा, एक छोरी र पत्नी रहेका छन् । रासस