बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यस्ता निर्णय गर्ने तयारी

शुक्रबार, पुष २८ २०७४

काठमाडौं पुस, २८–
शुक्रबार एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्ने भएको छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा  पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।  
पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारीलगायत विषयमा छलफल गर्न शुक्रबार बिहान बैठक बोलाइएको एमाले नेता तथा कार्यदलका एक सदस्य सुवास नेम्वाङले जानकारी गराए । 

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको दल दर्ता माघ १० गते भएकाले कार्यदल पार्टी एकताभन्दा पनि यसको साझा उम्मेदवार छनोट गर्ने गृहकार्यमा केन्द्रित हुने बताइएको छ ।

एमाले–माओवादी एकता संयोजन समितिको पुस २५ गते बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव  रहेका छन् ।  प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्ने अख्तियारी पाएको एमाले–माओवादी संयुक्त कार्यदलको बैठक आज पहिलो पटक बस्न लागेको हो ।