काठमाडौं पुस, २५–
डा. गाविन्द केसीलाई पक्राउ गरेको विरोधमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ । मंगलबार बिहानैदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको हो । सर्वोच्चको फैसलाको खारेजी हुनु पर्ने माग गर्दै डा. केसीका समर्थकहरुले उनको रिहाइ माग सहित आज बिहानैदेखि प्रदर्शन थालेका हुन् । अदालतको मानहानी गरेको भन्दै सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । बिहानैदेखि माइतीघरमा सुरु गरिएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका युवा नेता गगन थापा, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायतका नेता विरोधमा उत्रिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा.भट्टराई र पूर्वस्वास्थ्यमन्त्री थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।
त्यस्तै, कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् ।
सोमबार डा. केसी चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनसनमा बसेका थिए ।
अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।