चितवन पुस, २१–
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमतलाई सही ढंगले देश निर्माणमा लगाउनुपर्ने बताएका छन् । उनले जनताको अभिमतलाई सही ढंगले देश निर्माणमा लगाउन नसके ठूलो दुर्घटना हुनसक्ने चेतावनी समेत दिएका छन् ।
शुक्रबार भरतपुरमा चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशले निकै अप्ठ्याराहरु पार गर्दै राजनीतिक क्रान्तिको समापनतर्फ अघि बढेकोले अबका दशकहरु समृद्धिका दशकका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
“हिजो विकास भएन भने अरुलाई दोष दिने ठाउँ थियो, कहिले राजालाई, कहिले अमूक पार्टी या नेतालाई’ प्रचण्डले भने, ‘तर अब त्यो छूट हामीलाई छैन । अब हामीले देशलाई समृद्धितर्फ लैजान सकेनौं भने त्यो निकै ठूलो असफलता हुने छ । त्यसमा कुनै अमुक दल या नेतालाई मात्रै दोष दिने ठाउँ हुने छैन । अब भन्न बाँकी कोही छैन, दोष देखाउन कोही बाँकी छैन ।’
राजनीतिक दलहरुबीचको आपसी सहमति र समझदारीका कारण नेपालमा संविधान निर्माण जस्तो चुनौतीपूर्ण काम सम्पन्न गर्न सकिएको भन्दै प्रचण्डले अबको दिनमा समेत आर्थिक क्रान्तिको स्पष्ट खाका अघि सारेर काम गर्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले आर्थिक राजधानीसँगै चितवनलाई केन्द्रीय र प्रादेशिक राजधानी बनाउन पनि प्रयास भइरहेको दाबी गरे । राजनीतिक क्रान्तिको फेज सकिएको भन्दै अब आर्थिक क्रान्तिको दशक शुरु भएको उनको भनाई छ ।
‘सधैं राजनीतिक खिचातानी, दाउपेचले मात्रैं देश बन्दैन, यसो हुँदा देश र जनता पछाडि पर्ने अवस्था आउँछ’, अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक सहमतीबाट स्थायीत्वको दिशामा जानुपर्छ ।’
उनले अब बन्ने सरकारले निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने प्रष्ट पारे । कसैले चलाएको हल्लाको चपछि नलाग्न समेत उनले व्यवसायीहरुलाई आग्रह गरे ।