विराटनगर पुस, १९–
कांग्रेसमा राम्रो प्रभाव राख्न सक्ने नेता डा. शेखर कोइरालाले आफू पनि नेतृत्वको लागि योग्य रहेको घोषणा गरेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा एमाले नेता लालबाबु पण्डितसँग पराजित भएका नेता कोइरालाले आफू पनि सभापतिका लागि योग्य भएको जिकिर गरेका हुन् ।
बुधबार बिराटनगरमा रहेको आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले आफू पनि कांग्रेसको पदीय जिम्मेवारी लिन सक्ने अवस्थामा रहेको खुलाएका हुन् । उनले भने, ‘म लायक छैन भन्ने अवस्थामा छैन । म लायक छु ।’
पार्टीमा सुरु भएको युवालाई नेतृत्व हस्तान्तरणको बहसतर्फ इंगित गर्दै उनले भने, ‘म कार्यकर्ता भेट्ने र खट्नेमा पनि उनीहरु जतिकै छु । युवाहरुको जाँगर र पाकाहरुको होस् मिलाएर कांग्रेस वनेको छ, त्यसलाई युवाहरुले पनि विर्सनु भएन ।’
संविधान अनुसार राष्ट्रियसभा गठनपछि मात्र सरकार छोड्नु पर्ने भएपनि प्रजातान्त्रिक मुलुकमा निर्वाचन भएपछि सरकार छाड्ने परिपार्टी रहेको भन्दै उनले प्रधानमन्त्री देउवाले सरकार छोड्नु पर्ने समेत बताए । उनले भने, ‘संविधानत देउवाजी अहिले सरकार प्रमुख हो’ ‘तर, निर्वाचनको मत परिणाम आएको यतिका दिनसम्म सरकारमा वसिरहनु उचित हुँदैन ।’
कांग्रेस नेता कोइरालाले वाम गठवन्धनले सरकार निर्माणको लागि जनमत पाएको बताए । तर, एमाले र माओवादीबीच अहिले नै पार्टी एकिकरण हुनेमा आफु विस्वस्त नरहेको वताए । ‘सरकार निर्माणका दुई पार्टी संयुतm रुपमा हुनेछन् । तर, अहिलेको परिस्थितिमा पार्टी एकिकरणको अवस्था म देखिँदन’ कोइरालाले भने ।
अध्यादेश रोक्न खोज्नु अधिनायकवादको पहिलो खुड्किलो वाम गठवन्धनले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश रोक्न राष्ट्रपति विद्या भण्डारीलाई दबाब दिनुलाई अधिनायकवादको पहिलो खुडकिलो भएको उनले बताए ।